बैतडीमा बस दुर्घटना : २१ जना घाइते, सातको अवस्था गम्भीर

काठमाडौँ, पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस शनिबार बिहान ३ बजे दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३३ वर्षीया सीदेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान र गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भीर भएका सातैजनालाई जिल्लाबाहिर रेफरको गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ। बसका चालक फरार रहेका छन्।

सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेका थिए। बस सडकभन्दा १० मिटर तल खसेको छ।