नागढुंगा–नौबिसे सडकखण्डमा जाम, जामकै कारण एकको ज्यान गयो

काठमाडौं, चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौं बाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् ।काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।

नागढुंगा–नौबिसे सडकखण्डमा लामो जामका कारण समयमै अस्पताल पु¥याउन नसक्दा शुक्रबार रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला मृगौला रोगबाट पीडित साहको बिहान पाँच बजे बसमै निधन भएको हो । साह चढेको ना७ख ५३६४ नम्बरको बस राति २ बजेदेखि ५ बजेसम्म जाममा फसेको थियो । सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो ।