सार्कलाई सक्रिय बनाउन परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रस्ताव

न्यूयोर्कमा सार्कस्तरीय विदेशमन्त्रीको बैठक

काठमाडौं । सार्क मन्त्रिपरिषद्को न्यूयोर्कमा भएको अनौपचारिक बैठकमा भाग लिँदै नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने धारणा व्यक्त गरेकोे छ।

सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो ।

१९ औं सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ ।

“सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ”, बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने । सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए ।

उनले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए । बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए । भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन् ।

पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले १९औँ सार्क शिखर सम्मेलन जुनसुकै समयमा आयोजना गर्न आफ्नो देश तयार रहेको जानकारी दिए ।