प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताएका छन् ।

उनका समकालीन प्राध्यापक केआर खम्बूको पुस्तक ‘छायाँको लस्कर’को शुक्रबार बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गरे ।

उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिस्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा संगठिन र सचेत प्रयासका साथ थालनी गरेर सुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे ।

‘देशको सुखद् भविष्यको परिकल्पना थियो । आफ्नोबारेमा केही पनि परिकल्पना थिएन’–उनले भने–‘त्यसबेला भोकै हिँड्ने र भोकै पनि रहने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नुपर्थ्यो । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एकपटक खुट्टामा खिल परेर ६ महिनासम्म खोच्याएर हिँड्नुपरेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।’

उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेका धन्यवाद दिए ।