अन्तरकलहले आफै सकिन्छ नेकपा – रामचन्द्र पाैडेल

तुलसीपुर,  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्ट आफ्नै अन्तरकलहका कारण सिद्धिने निश्चित रहेको बताएका छन् ।

नेपाली कांग्रेस दाङले श्रीगाउँमा गरेको सभालाई सम्बोधन गर्दे नेता पौडेलले यस्तो बताएका हुन् । दुई पार्टीको एकीकरणपछि पनि देखिएको गुठ उपगुठ र अन्तरद्वन्द्वका कारण दुई तिहाईको सरकार समेत अप्ठ्यारोमा परेको उनको भनाइ छ ।

‘नेपालमा कम्युनिस्ट व्यवस्था असफल भइसकेको छ’, उनले भने, ‘त्यसलाई सुधार गर्न चीनबाट कम्युनिस्टका नेता बोलाएर ट्युशन सुरु भएको छ।’

उनले अरुले सिकाएको कम्युनिस्ट व्यवस्था झन् कहिल्यै सफल नहुने दाबी गरे । पौडेलले वर्तमान सरकार महंगी, भ्रष्टाचार र लुटतन्त्र मच्चाउन लागिपरेकोले सरकारविरुद्ध देशव्यापी खबरदारी गर्नु परेको बताए ।

मंसिर १ मा हुने दाङ क्षेत्र नम्बर ३ खको प्रदेशसभा सदस्यको उप निर्वाचनलाई लक्षित गरि कांग्रेसले जिल्लामा सभा तथा कार्यक्रम बढाउदै गएको छ । त्यहि अन्तरगत बिहीबार आयोजित सभालाई पौडेलले सम्बोधन गरेका हुन् ।