गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य

काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामालाई काँग्रेसको केन्द्रीय सदस्यमा ल्याउन लागिएको हो।

पार्टी एकीकरणताका गच्छदारसँग भएको सहमति कार्यान्वयन हुने भएसँगै लामालाई पनि केन्द्रीय समिति सदस्य बन्ने भएका हुन् । उनी सहित तत्कालीन फोरमका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

गच्छदारका विश्वासपात्र समेत रहेका लामालाई उनकै जोडबलमा केन्द्रीय सदस्य बनाउन लागिएको स्रोतको दाबी छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि गच्छदारसँगको सहमति टुंगोमा पुगेको बताए ।

गत निर्वाचनमा काभ्रे प्रदेश सभा १ (ख) बाट सदस्य उम्मेदवार बनेका उनी पराजित भएका थिए । ०७४ फागुनमा गौशालास्थित होटल पशुपति भिजनबाट लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।