गाँजा तस्करमाथी गोली प्रहार, एक जना पक्राउ

७८ किलो गाँजा बरामद

हेटौंडा, प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२९ का चौधरीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना६ख १३१ नंको ट्रकमा सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकी प्रहरी जवानलाई लछारपछार गर्दै जङ्गलतर्फ लैजाने प्रयास गर्दा पिछा गर्दै आएका प्रहरीले गोली प्रहार गरी चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा दुईजना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले जानकारी दिए । प्रहरीले ट्रकको क्याबिनबाट १४ पोकामा रहेको ७८ किलो ८०० ग्राम लागुऔषध गाँजा बरामद गरेको  थियो ।