मान्छे हानेर भागेको राँगोलाई गोली हानी मारियो

काठमाडौं– कालीमाटीमा मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई प्रहरी गोली प्रहार गरी मारेको छ । मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो।

मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर गई चार जनालाई हानेर घाइते बनाएको थियो ।

मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले न्यूरोडको खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए ।

घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । स्वयम्भु तर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गोली हानेर मारेको हो ।

काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर एउटा राँगोलाई मारेको थियो ।

यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मच्चाएपछि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।