नागढुंगा-नौबिसे सडकमा ओभरटेक गर्न नपाइने

काठमाडौँ, मंगलबार (आज)बाट नागढुंगा नौबिसे सडकमा ओभरटेक गर्न नपाइने भएको छ । दशैँ, तिहारलगायत चाडपर्वमा हुने सवारीसाधनको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले जनपद प्रहरी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको समन्वयमा नागढुंगा–सिक्रेखोला–खत्रीपौवा–खानीखोला–नौबिसे सडकखण्डको १५ किलोमिटर क्षेत्रलाई नो ओभरटेक जोन घोषणा गरेको हो ।

उकालो–ओरालो तथा साँघुरो र घुमाउरा मोड धेरै भएका कारण ओभरटेक गर्दा सडक दुर्घटनाको हुनसक्ने तथा जाम बढ्ने भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

त्यसैगरी, खानीखोलादेखी मौवाखोलासम्म जाम हुन नदिन दिउँसोको समयमा मालबाहक सवारीको प्रवेशमा रोक लगाइएको छ । क्षमताभन्दा बढी भार बोकेका ठूला मालबाहक सवारी साधनहरुलाई चितवनबाटै प्रवेश निषेध गरिनेछ ।

ठूला ढुवानीका साधनलाई राजधानी प्रवेशमा रोक लगाइएपछि कुरिनटार, चुम्लिङटार, फिस्लिङ, मझिमटार, जोगिमारा, विशालटार, मौवाखोलालगायतका क्षेत्रमै रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले सुरक्षा निकाय, धुनीबेसी नगरपालिकाका जनप्रतिनिधि, चितवन सडक डिभिजन कार्यालय र गल्छी गाउँपालिकाका प्रतिनिधिहरुसँगको छलफलपछि यस्तो निर्णय गरेको हो ।