बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

काठमाडौं। दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसंै मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।

दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन् । आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए ।

टिकट काउन्टरमा घुइँचो

‘टिकट नपाएर टीका रोकिने हो कि भनेर डराउनुपर्दैन । हामी दसैंमा पनि टिकट पाउने व्यवस्था गर्छौं,’ उनले राजधानीसँग भने, ‘तर, हामीले सरकारसँग सडक बाटो बनाउन आग्रह गरेका छौं । सडक बाटो बिग्रिएर रोकिने अवस्था आयो भने गाह्रो छ ।’

महासचिव सिटौलाले सोमबार र मंगलबार सर्वसाधारणले कति टिकट काट्छन्, त्यसअनुसार बस थप्नुपर्ने वा विकल्प खोज्नुपर्नेबारे समीक्षा गरेर अघि बढ्ने बताए । ‘अब हामी १÷२ दिनको अवस्था हेरेर सरकारसँग सल्लाह गर्छौं, विकल्पबारे पनि सोच्छौं । तर, मुख्य कुरा सडक बिग्रिएर र भत्किएर गाडी रोकिने अवस्था आउनुभएन, यसमा सरकारले बढी ध्यान दिनुप¥यो ।’

अग्रिम बुकिङ हुने ठाउँहरू

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तीलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा र लगनखेललगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिनेछ । दसैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनको अनुगमन र यात्रुहरूको समस्या समाधानका लागि उपत्यकामा १० असोजबाट विभिन्न १३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको हो ।

गत वर्ष १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । अहिले सोही संख्यामा उपत्यकाबाट बाहिरिने व्यवसायीको अनुमान छ । दसैंको समयमा एकैचोटि धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले पहिले नै टिकट काट्ने गरिन्छ ।

व्यवसायी तथा ट्राफिक प्रहरीले बढी भाडा लिए तथा ब्ल्याकमा टिकट बिक्री गरे ट्राफिक प्रहरीमा खबर गर्न आग्रह गरेका छन् । विभागले आफू जाने ठाउँको भाडादरबारे पूर्वजानकारी राखेर टिकट काट्न अनुरोध गरेको छ । (राजधानी दैनिकबाट साभार)