नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता भएनन् : प्रचण्ड

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता नभएको बताएका छन् । तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा उनले विचार र सिद्धान्तका हिसाबले कम्युनिष्ट कमजोर बन्दै गइरहेको बताए । उनले कम्युनिष्टहरु आदर्श र निष्ठाबाट बिचलित हुँदै गएकाले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्तो नभएको प्रष्ट पारे ।

आफूले बोलेका कुराले दोहोरो अर्थ लाग्नेगरी चर्चा भए पनि आफुले बोल्ने कुरा सत्य नै हुने उनको भनाइ थियो । उनले पछिल्लो समयमा कम्युनिस्ट पार्टी र अन्य पार्टी छुट्याउनका लागि जनतालाई गाह्रो पर्ने अवस्था आएको बताए ।

सत्ता प्राप्त गरेपछि कम्युनिष्ट पार्टी पनि निरंकुश हुन थालेको उनको भनाइ थियो । अध्यक्ष दाहालले जनताको चाहनाअनुसार काम गर्न नसकेको पनि स्वीकार गरे । उनले पूर्वी युरोपको समाजवादी सत्ता धराशायी बनेझैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि धराशायी बन्दै जाने खतरा बढेको बताए । उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिष्ट पार्टीले गति लिन नसकेको भन्दै त्यसका लागि नेतृत्वकै कमजोरी रहेको बताए ।

अध्यक्ष दाहालले गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता नगरेको पनि प्रष्ट पारे । कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै समाजवादभन्दा अन्य विकल्प नभएको प्रष्ट पारे । उनले कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नै बोलीबिरुद्ध पनि संघर्ष गर्नुपर्ने समय आएको बताए ।

दाहाल र खनालले साहना प्रधान नेपालको कम्युनिष्ट आन्दोलनको अग्रणी नेता भएको बताए । साहनाको आदर्श र निष्ठाबाट नेपालका कम्युनिष्टहरुले धेरै सिक्न बाँकी रहेको भन्दै उनीहरुले महिला आन्दोल, शैक्षिक आन्दोलनको अग्रणी नेताका रुपमा सहाना प्रधानको स्मरण गरे । सहानाका छोरा उमेश श्रेष्ठले भने बर्षमा एक दिन गरिने सरकारी श्राद्धले साहना प्रधानको सपना पुरा नहुने बताए ।