एकै पटक एक सय ५७ कैदी बिरामी परेपछि……

इलाम । इलाम कारागारका एकाएक १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र रोग एकबाट अर्कामा सर्दै जाँदा सङ्क्रमणको अवस्था देखा परेको हो ।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले राससलाई जानकारी दिए । “एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ ।” श्रेष्ठले भने, “धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।”

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । “शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर एक सय ५७ को सङ्ख्या पुग्यो ।” श्रेष्ठले भने, “अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।”

कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ ।

कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताउँछन् । “कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ”, उनले भने, “२४ सैँ घण्टाजस्तो ड्युटी पर्छ । यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ ।”