प्रहरीमा ३५ सय दरबन्दी थप्‍न प्रस्ताव पेश, तीन एसएसपी थपिँदै

काठमाडौं । नेपाल प्रहरीमा तीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित ३ हजार ५ सय ९६ जनाको दरबन्दी थप्न प्रस्ताव पेश गरिएको छ । गृह मन्त्रालयले तीनजना एसएसपी, दुई एसपीसहित ३५ सय ९६ जनाको दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको हो ।

गृहका एक अधिकारीका अनुसार सो प्रस्ताव मुख्यसचिव समक्ष पेस भइसकेको छ । आगामी मन्त्रीपरिषद् बैठकबाट प्रस्ताव पास हुनेछ । प्रहरी प्रवक्ता डीआईजी विश्वजराज पोखरेलले मुलुक संघीय व्यवस्थामा गएको अवस्थामा नयाँ दरबन्दीका लागि प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्न आग्रह गरेको बताए ।

उनका अनुसार १ सय ८६ नयाँ प्रहरी युनिट स्थापना गर्न थप दरबन्दी आवश्यक छ । हाल प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९ सय २७ को दरबन्दी छ ।

त्यसमा चार हजार पदपूर्ति हुन सकेको छैन । यस्तो अवस्थामा थप जनशक्तिको मागले आर्थिक भार बढ्नेछ । तर प्रहरी प्रवक्ता पोखरेल भन्छन्, ‘‘संघ, प्रदेश र स्थानीय संरचनामा मुलुक गएपछि शान्तिसुरक्षा व्यवस्थापन र अपराध अनुसन्धान लगायतका नियमित कार्य सञ्चालनका लागि जनशक्तिको अभाव छ ।’’ डीआईजी पोखरेलका अनुसार नयाँ प्रस्ताव गरिएको एसएसपीको दरबन्दी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम र प्राविधिकतर्फ ‘ब्यान्ड बाजा’मा गरिएको छ ।

हाल देशभर प्रहरीको युनिट संख्या २ हजार ५ सय ६४ छ । प्रवक्ता पोखरेलका अनुसार बढाइएको दरबन्दी स्वीकृत भएको अवस्थामा २ सय इलाका र चौकीका लागि दरबन्दी थप हुनेछ ।

प्रहरीले लामो समयदेखि दरबन्दी थपको माग गर्र्दै आएको छ । मुलुक संघीय संरचनामा गइसकेकाले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न अझै १५ देखि २० हजारको संख्यामा जनशक्ति आवश्यक रहेको प्रहरी अधिकारीले औंल्याउँदै आएका छन् ।