खुल्यो दसैंको अग्रिम टिकट बुकिङ , काउन्टरमा यात्रुको चाप

काठमाडौं, दसैंका लागि लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।

 यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्ता अधिकारकर्मीलगायतका सरोकारवाला निकायको भदौ २६ मा बसेको संयुक्त बैठकको निर्णयानुसार आजबाट देशभरका लागि बसको टिकट बुकिङ खुला गरिएको हो।

गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खुलगायत स्थानबाट टिकट बुकिङ गर्न सकिनेगरी व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। दसैं सुरु हुन एक सातामात्रै बाँकी रहँदा खुलाइएको टिकट बुकिङ काउन्टरहरुमा बिहानैदेखि यात्रुहरुको भिड लागेको छ।

सबैभन्दा धेरै सवारी तथा यात्रुको चाप रहने नयाँ बसपार्कमा यात्रुहरुको बढी भीड लागेको छ। व्यवसायीले दबाब दिए पनि विभागले चाडपर्वमा सार्वजनिक सवारीको भाडा भने बढाएको छैन। व्यवसायीहरु पुरानै भाडामा दसैंको टिकट बुकिङ खोल्न सहमत भएका हुन्। गत वर्ष १० प्रतिशत भाडा बढाएर मात्रै बुकिङ खुल्ला गरिएको थियो। यो वर्ष भने हाल कायम भएको भाडादरमै टिकट बुकिङ खोलिएको यातायात व्यवस्था विभागले जनाएको छ।

दसैं मनाउन यस वर्ष उपत्यकाबाट २० लाखभन्दा बढी मानिस बाहिरिने गरेको आँकलन गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार यस वर्ष दसैंलाई केन्द्रित गरी नयाँ बस भने थपिएको छैन। ‘असोज १२ गतेदेखि यो वर्षको दसैं सुरु हुँदैछ,’ उनले भने, ‘यात्रुको सुविधाका लागि महासंघले आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्नेछ।’

व्यवसायीहरुले वर्षायाम तथा अन्य कारणले बिग्रिएका सडक समयमै मर्मत गर्न सरकारलाई आग्रह गरेको छ भने विभागले टिकट बुकिङमा अनियमितता नहोस् र यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष तथा अनुगनमलाई तिब्रता दिने जनाएको छ।