खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।

निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो। पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो।