विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेजलाई तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न आग्रह गरेको छ ।

शुल्क बढी लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहँदा त्रिविले भने कारबाहीका लागि कुनै संकेत नदेखाई बढी लिएको शुल्क फिर्ता गर्न अनुरोध गरेको हो।

मन्त्रिपरिषदले यसअघि तोकेको शुल्कभन्दा बढी लिन नपाइने भन्दै त्रिविले कलेजको ध्यानाकर्षण गराएको छ। गत वर्षको असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकले एमबिबिएस अध्ययनरत विद्यार्थीको शुल्क तोकेको थियो।

तर चितवन मेडिकल कलेज प्रशासनले तोकिएभन्दा बढी रकम अशुलेपछि विद्यार्थीहरु झण्डै तीन सातादेखि आन्दोलनरत छन्। त्रिविले विद्यार्थीहरुलाई समेत वार्तामा बस्न भनेको छ।

वार्ताबाटै सबै समस्या समाधान हुने भन्दै त्रिविले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आन्दोलन नगर्न भनेको छ।