संसदमा नेकपा र कांग्रेस सांसदको दोहोरी,बैठक अवरुद्ध

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख कृष्णबहादुर महराले सोमबारको संसद बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिए । संसदमा बोल्दै सांसद भुसालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताको हुलले गरेको आक्रमणबाट आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायत ६० जना नेता–कार्यकर्ता घाइते भएको बताइन् ।

भुसालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफ्नो भनाइ टुंग्याएपछि बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले बोल्ने समय मागे ।

रोकाले कांग्रेस सांसद भुसालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले नाराबाजी शुरु गरेको छ ।