घुससहित न्यायाधीशका सवारीचालक समातिए

सिरहा, जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका यादव इजलास–३ का न्यायाधीश नरनारायण पौडेलका सवारीचालक हुन् । आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटेलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार बर्दिबासका प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए । उनकाअनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेका थिए ।