पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद

काठमाडौँ, उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ ।

व्यापारी संघाईको अपहरणमा गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजालसले जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले उनीहरुलाई सजाय थप गरेको हो । यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए। २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौतीबापत ८५ लाख रूपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो।