इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं, भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् । उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त तालीममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी तीन विधामा पुरस्कार हासिल गर्न सफल भएकी छन् ।

साथै, प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पिटी’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भएका छन् । पुरस्कृत प्रहरीलाई यही भदौ ७ गते आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गरेका थिए ।

विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो । करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालीम छ महीनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्दछ ।

सन् २०१७ डिसेम्बरमा शुरु भएको उक्त तालीममा ९२ भारतीय प्रहरी, पाँच नेपाल प्रहरी र छ रोयल भुटान पुलिस गरी कूल १०३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष पाँच प्रहरी निरीक्षक उक्त तालीममा समावेश हुने गरेका छन् । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालीममा हालसम्म ६० जना भन्दा बढी वरिष्ठ प्रहरी अधिकृतले भाग लिइसकेका छन् ।