होटलमा बास बसेका युवक कसरी मृत भेटिए ?
दाङ ,दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बंगलाचुली गाउँपालिका-८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। उनी साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित शंकर होटेलमा घर्ती मृत फेला परेका हुन्। भारतको महाराष्ट्रबाट रोजगारी गरी फर्किंदै गरेका घर्तीसहित ६ जना शनिबार होटेलमा बास बस्न आएका थिए।
अन्य चारजना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति पनि सँगै सुतेको प्रहरीले बताएको छ। बिहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। त्यसैगरी, घोराहीमा एक युवामाथि खुकुरी प्रहार भएको छ।
शनिबार बेलुका साढे ७ बजेतिर घोराही उपमहानगरपालिका १५ निवासी १८ वर्षीय त्रिशक्ति बर्तौलामाथि स्थानीय दुईजना युवाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए। वडा-१५ कै ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीले सामान्य विवादका कारण खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
घाइते बर्तौलालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ। घाइतेको टाउकोमा चोट रहे पनि अवस्था सामान्य रहेको पनि प्रहरीले बताएको छ। खुकुरी पहार गर्ने दुवैजना पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।