कब्रला संरक्षणकालागि पठानको संयोजकत्वमा वार्ता समिति गठन

नेपालगन्ज,बाँकेको नेपालगंजमा रहेको इस्लाम धर्मावलम्बीहरुको कब्रलाको जग्गालाई सुनयोजित तरिकाले बिभाजन गर्न खोजिएको भन्दै बाँकेका मुस्लिम समुदायले आपत्ती प्रकट गरेका छन् ।

नेपालगंजमा बुधबार केन्द्रीय कब्रला संरक्षण समितिले आयोजना गरेको बैठकमा सहभागि मुस्लिमहरुले कब्रलाको जग्गा कसैलाई कुनै पनि बहनामा दिन नहुने धारणा राखेका हुन ।

एक सय वर्ष भन्दा बढी समय देखि कब्रलाका नाममा उपभोग गर्दै आएको जग्गामा केही तत्वहरुले स्टेडिएम, स्वास्थ्य चौकी, वडा कार्यालय बनाउने जस्ता प्रस्ताव गरी कब्रलालाई विस्थापित गर्न खोजेको उनिहरुले आपत्ती जनाएका हुन ।

कब्रला संरक्षण समितिका अध्यक्ष फिरोज हल्वाईले कब्रलालाई संरक्षण गर्न पूर्व संविधान सभा सदस्य माननीय संध्यादेबले आफ्नो संसदीय कोटाबाट केही रकम विनियोजि गरे पछि बाउण्डरी निर्माण गर्ने क्रममा विवाद उत्पन्न भए पछि काम तत्काललाई रोकिएको थियो ।

अध्यक्ष हल्वाईले कब्रला संरक्षणका लागि सहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राइलाई पत्रचार गर्दा समेत कुनै चासो नदिएको प्रति दुख व्यक्त गर्दै अविलम्ब कब्रलाको संरक्षणका लागि पहल गरी दिन अपिल समेत गरे ।

यसैबिच कब्रला संरक्षणकालागि सरोकारवालाहरुसँग छलफल गर्ने उद्धेश्यले स्थानिय मुस्लीम अगुवा बाबु पठानको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।

वार्ता समितिले कब्रला संरक्षणका कानुनी प्रक्रिया देखि कब्रलाको इतिहास लगायतका विषयमा अध्ययन गर्ने छ । कब्रलाको जग्गामा कुनै पनि विवाद नगरी सम्मानित तरिकाले कब्रलाको जग्गा उपभोग गर्ने वातावरण निर्माण गर्न बाँकेका मुस्लिमहरु एक भएका हुन ।