यसरी हुदैछ सिके राउतलाई संसद्मा ल्याउन चलखेल

काठमाडौं, विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ ।

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ ।

उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।