संसद्लाई खरिद गरिएका गाडीमा एक महिनामै प्राविधिक समस्या

अनियमितताको आशङ्का

काठमाडौं, सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ ।

गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहेका रामनारायण बिडारीसहित सङ्घीय संसद्का तीन सदस्यलाई छानबिन प्रक्रिया अगाडि बढाउन अख्तियारी दिएका छन् । औपचारिक रूपमा समितिलाई पत्र दिइएको छैन ।

सभापति बिडारीसहित प्रतिनिधिसभाका दुई समिति सभापतिलाई छानबिनका लागि अख्तियारी दिइएको हो । कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल र सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहलाई छानबिन प्रक्रिया अगाडि बढाउन सभामुखले आग्रह गरेका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।