सोह्र बर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै उप-महानगरपालिका घेराऊ

नेपालगन्ज, बाँकेमा मधेशी महिलाहरुले १६ बर्षमै बिहे गर्न पाउनुपर्ने भन्दै उप महानगरपालिका घेराउ गरेका छन । उनीहरुले बिहिबार नेपालगन्ज उपमहानगरपालिका अगाडि दुई घन्टा सडक अवरुद्ध समेत बनाएका छन ।

 स्रोह बर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेमा मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन । युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न–गराउन पाउने कानुनी प्रावधान मधेसी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झन्डै तीन सय महिला नेपालगन्ज आएको आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताइन ।

उनले मधेसी र मुस्लिम समुदायका एक–दुई परिवारको मात्र समस्या नभई पूरै समुदायलाई कानुनले असर गरेको जिकिर गरिन। बाँकेका विभिन्न गाउँबाट आएका मधेसी र मुस्लिम महिलाले १६ वर्षको उमेरमा विवाह गर्न नपाउने गरी बनेको कानुनले ठूलो समस्या निम्त्याएको बताए ।

सडक अवरुद्धसँगै उपमहानगरपालिका घेराउ गरेका महिलाहरुले कानुन परिमार्जन गर्नुपर्ने माग राखेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

महिला टोेलीले कानुन सच्याउन मागसहितको सिफारिस गरिदिन नेपालगन्ज उपमहानगरपालिकासँग अनुरोध पनि गरेका छन । उनीहरूले उपमहानगरपालिकालाई लिखित पत्रसहित कानुन सच्याउन सिफारिस गरिदिन आग्रह गरेको कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।