आकासियो सुनको मुल्य, पुग्यो तोलाको ७० हजार

सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो।

पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले त्यसपछि हरेक दिन बढ्दैछ।

आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को दिन ५ सय बढ्यो। मंगलबार १५ सयले बढेर प्रतितोला ६८ हजार ८ सयमा कारोबार भयो।

बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो। नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने यसअघिको उच्च मूल्यमा पुगेको छैन।

सन् २०११ अगस्ट २९ मा प्रतिऔ सुनको मुल्य १८८९.७० डलर पुगेको थियो । त्यो मूल्य अन्तर्राष्ट्रि बजारमा कायम भएको सबैभन्दा बढी हो । त्यतिबेला नेपालमा भने प्रतितोला ६३ हजारमा कामय भएको थियो ।

अहिले नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔंस १५ सयको डलरको हाराहारीमा छ। यो बढ्दै गएको छ।

त्यतिबेला नेपाली मुद्रा बलियो भएकाले सुनको मूल्य कम थियो। अहिले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण सुनको मूल्य बढी भएको हो।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ। आएको छ।

यता मूल्य अत्याधिक हुदाँ सुनको कारोबार भने ठप्पजस्तै भएको छ।