योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी भएका थिए ।

साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी थिए ।