चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार

कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा अड्केको अवस्थामा रहेको थियो ।

स्थानीयमार्फत जानकारीप्राप्त हुनासाथ सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटिएका उद्धार टोलीले उनको उद्धार गरेको हो । सुनारलाई उपचारका लागि गण्डकी अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।