भुकम्प पिडितले पाएनन् अनुदान्…

रामेछाप — गैरसरकारी संस्था कार्यक्रम अवधि सकिएर बाहिरीएपछि रामेछापको मन्थली र रामपुरका भूकम्प पीडितले घर निर्माणको अनुदान रकम पाउन सकेका छैनन् । बाहिरीनु अघि गैरसरकारी संस्थाले गर्दै आएको काम राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई हस्तान्तरण गरेका थिए ।

बाँकी काम गर्ने गरी जिम्मा लिएको प्राधिकरणले पीडितको खातामा पैसा हालेको छैन । मन्थलीको वडा नम्बर १ र साविकको रामपुरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले निजी आवास पुननिर्माणका लागि पीडितहरुका लागि अनुदान वितरण गर्दै आएको थियो ।

रेडक्रसद्वारा संचालन भएको भूकम्प प्रतिकार्य कार्यक्रम बाहिरीएपछि पीडितका नाममा अनुदान उपलब्ध भएको छैन । ‘हामीले घर बनाएर किस्ताका लागि महिनौं अघि सम्बन्धित कार्यालयमा फाईल बुझाएका हौं तर अहिलेसम्म पनि अनुदान रकम पाएनौं,’ मन्थलीका राजु श्रेष्ठले भने । उनले प्राविधिक निरीक्षण लगाएतका सबै प्रकृया पुरा भएपनि अनुदान रकम प्राप्त नभएको गुनासो गरे ।

त्यसैगरी मन्थलीकै राजेन्द्र्र केसी अनुदानका लागि दिनहुँ राष्ट्रिय पुननिर्माण प्राधिकरणको अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार कार्यालयमा धाउँदै हैरान भएको बताउँछन् । उनले उक्त कार्यालयले माथिल्लो निर्णर्य नआउँदासम्म अनुदान उपलब्ध गराउन नसकिने भन्ने जानकारी पाएको बताए ।

साविकका रेडक्रसले वितरण गर्दै आएको अनुदानको काम जिम्मा लिएको प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालयको सफ्टवेयरले पीडितको नाम नदेखाएको कारण अनुदानको रकम बैंकमा पठाउन नसकेको जनाएको छ । उक्त समस्याको विषयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पटक पटक ध्यानाकर्षण गराएको र केहि दिन भित्रै समस्याको समाधान हुने जानकारी पाएको यादवले बताए ।