रामेछापको साँघुटार बजारमा भिषण आगलागी : चार घर जलेर नष्ट

रामेछाप, रामेछापको साँघुटार बजारमा अाज बिहान भएको भिषण आगलागिमा परी चार घर जलेर नष्ट भएका छन् ।

रामेछाप नगरपालिका–३ साँघुटार बजारमा अाज बिहान भएको आगलागी बाट उक्त क्षेती भएको हो । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार लिखु खोला छेउको पक्कि पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्कि घर जलेर नष्ट भएको छ ।

त्यसैगरी राजन सुवेदी, अनिष थापा र हरिमायाँ थापाको घर पनि आगलागिमा परि जलेर नष्ट भएको छ । विहान ८ बजे देखी लागेको आगो स्थानीयको प्रयासमा बिहान ११ बजे नियन्त्रणमा लिएको उनले बताए । गोदाममा ग्यास, पेट्रोल र डिजेल समेत रहेकोले आगो केही बेरमा नै फैलिएको थियो । आगो विद्युत लाइन सर्ट भएर निस्किएको आशंका स्थानीयले गरेका छन् ।

आगलागीको घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले घटनास्थलमा प्रहरी चौकी धोवीबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोलि गएको बताए ।

साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यस अघि पनि बारम्बार आगलागिका घटनाहरु भएको थियो ।