प्रदेशको नामाकरण र राजधानी छिट्टै घोषणा हुन्छ: मन्त्री ढुङ्गेल

रामेछाप, प्रदेश न. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश राजधानीको नामाकरण र स्थान छिट्टै टुंगो लाग्ने दावी गरेका छन् ।

उनले अब बस्ने पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने बताए । रामेछापको सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ढुंगेलले प्रदेशको राजधानीको बारेमा आधिकारिक निर्णय हुन मात्र बाँकी रहेको बताए ।

उनले प्रदेशको स्थायी राजधानीका लागि काभ्रे, नुवाकोट, हेटौडा लगाएतका जिल्लाहरु प्रस्ताव भए पनि संवैधानिक विधि र प्रक्रिया अनुसार टुङगो लाग्ने बताए ।

मन्त्री ढुंगेलले प्रदेश तीन सरकारले योजना बैङ्क बनाएर विकासका काम गर्ने योजना बनाएको भएपनि प्राविधिक कठिनाइएको कारण योजना कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे । उनले आगामी दिनमा योजना बैङ्क मार्फतनै अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ठूला योजनाहरु सञ्चालन गर्ने र साना योजनाहरु स्थानीय सरकार मार्फत नै सञ्चालन गरिने बताए ।