रामेछाप मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपण महाअभियान सुरु

रामेछाप ,सामुदायिक विकास समाज मन्थली , सृजनशिल यूवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्वार सञ्चालित वातावरण संरक्षण परियोजना अन्तर्गत मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने कार्य सुरु भएको छ ।

मंगलबार जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सामाजिक अभियान्ता, व्यवसायीहरु लगायतको सक्रियतामा रुख रोप्नको लागि खाडल खन्ने तथा विरुवा लगाउन कार्य भएको सामुदायीक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन घिसिङले जानकारी दिए ।

सो परियोजना अन्तर्गत मन्थली खुर्कोट, मन्थली टेकानपुर, मन्थली सुनारपानी, मन्थली रामेछाप लगायतका सडक किनारलाई हरियाली बनाई वातावरण संरक्षणमा सहयोग पुर्याउने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रम अन्तर्गत यस वर्ष ३ लाख विरुवा लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए । परियोजनाले ३ वर्षको अवधिमा ९ लाख सडक किनार तथा आसपासको क्षेत्ररमा ९ लाख विरुवा लगाउने योजना बनाएको छ ।

यसै बिच रामेछापको मन्थली नगरपालिका १ स्थित सानीमदौ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिने भएको छ । मन्थली क्याम्पस भन्दा माथी खुल्ला वनक्षेत्रको पाखामा विरुवा लगाईने भएको हो । सो प्रयोजनको लागी अहिले पाँच हेक्टर खुल्ला ठाउँमा तिन फिट गहिरो नौ सय ओटा खाडल तयार गरिएको छ ।

सुख्खा पाखोलाई हरियालीमा परिणत गर्ने उद्धेश्यले वृहत्त वृक्षारोपण महाअभियान अन्तर्गत यो वर्षायाममा २ हजार विरुवा रोपिने सानीमदौ सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष युवराज सुवेदीले जानकारी दिए। उनका अनुसार साउन महिनाको पहिलो साताभित्र सामुदायिक वन क्षेत्रमा निम,क्यासिया,श्रीखण्ड,लिचि,आँप लगाएतका विरुवाहरु रोपिने छन् ।

आवश्यक विरुवा वातावरण संरक्षण परियोजनाले उपलब्ध गराउने कोषाध्यक्ष सुवेदीले बताउनुभयो ।वर्षायाममा घाँसमात्र हुने र हिउँदमा सुक्खा हुने सानीमदौ सामुदायिक वन क्षेत्रमा अव विरुवा लगाएर हरियाली बनाउने बताईएको छ । विरुवालाई सिंचाईको लागी पाईपलाईन मार्फत पानी पुर्याईने सामुदायिक वनका अध्यक्ष अम्बिका प्रसाद काफ्लेले बताए ।