भारतीय दूतावासको पत्रपछि बिषादी परीक्षण रोक्ने निर्णय त्रुटिपूर्ण : बामदेव गौतम

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले नेतृत्व गर्ने भातृ संगठन अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्रचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै आपत्ति जनाएको छ ।

महासंघको संयोजक समेत रहेक नेता गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै यो निर्णयले नेपाल सरकार भारतसँग आत्मसमर्पण गरेको भ्रम फैलन पुगेको र विगतमा किसान विरोधी नीति लाद्ने प्रमुख प्रतिपक्षी दल सडकमा उत्रने अवस्था आएको उल्लेख गरेका छन् ।

‘आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भएपनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो । परन्तु भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण छ,’ नेता गौतमले भनेका छन्, ‘यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ ।’

गौतमले नेपाल सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरुको विषादी पुनः परीक्षण सुरु गर्न माग गरेका छन् ।