मदिरा सेवन गरेकै आरोपमा प्रहरीबाट निर्घात कुटिए मजदुर

काठमाडौं, मुगुको खत्याड गाउँपालिकको काष्ठ उद्योगमा कार्यरत दुई मजदुर माथि प्रहरीले मदिरा सेवन गरेको आरोपमा निर्घात कुटपिट गरेको छ ।

खत्याड गाउँपालिका वडा न. ९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका वडा न. ४ का २९ वर्षीय तिलक रोकायाले मदिरा सेवन गरेको आरोपमा प्रहरीले कुटपिट गरेको हो ।

गाउँपालिकाको अस्थाई सदरमुकाममा रहेको माथिचौर अस्थाई प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको भनाइ छ ।

मंगलबार साझँ काम सकेर मदिरा सेवन पछी सोमबार साँझ टक्क भण्डारी नजिकैको पसलमा चुरोट किन्न गएका थिए । उनको पसलमा चुरोट किन्न जाँदा स्थानीय युवासँग सामान्य विवाद भएको थियो ।

मदिरा पिएर विवाद गरेको नाममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर लाठी, बुट, मुक्काले हानेको पीडित भण्डारीले बताए ।

खत्याड गाउँपालिकाले आफनो सबै वडामा मदिरा निषेध गरेको छ । मदिरा सेवन गर्ने र विक्री वितरण गर्नेलाई गाउँपालिकाले चार-चार हजार जरिवाना तोकेको छ ।

प्रहरीले नियन्त्रणमा लिएर नियम अनुसार जरिवाना गर्नुको साटो निर्घात कुटपिट गरेकोप्रति खत्याड गाउँपालिका ७ का वडा सदस्य अनन्तराज घोडासैनीले आपत्ति जनाए । ‘यो प्रहरीको कारबाही प्रक्रिया आपत्तिजनक छ’, उनले भने ।

प्रहरीले भण्डारीलाई १६ गते पक्राउ गरेको थियो । भने उनका साथी रोकायलाई १७ गते पक्राउ गरेको हो । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लगेर कुटपिट पछी चार(चार हजार जरिवाना गर्ने कागजपत्र समेत गराएको पीडित भण्डारीले बताए ।