अब कामको समिक्षा गर्न जनताको घर–घरमै पुग्नेछु – अध्यक्ष बस्नेत

जाजरकाेट, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कामकाे समिक्षा गर्न जनताकाे घर घरमा पुग्ने बताएका छन । अस्थायी प्रहरी पोष्ट र कृषि विकास बैंकको शाखा स्थापनाका लागि आईतबार  कुशे गाउँपालिकाको प्रशासनीक केन्द्र थर्पु भार्मामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले  चुनाबको वेला जनताको बिचमा गरेका बाँचाहरु पुरा गरेरै छोड्ने प्रतिबद्भता ब्यक्त गरे । 

गाउँपालिकाले प्रशासनिक केन्द्र थर्पु भार्माबाट सेवा प्रबाह गर्नका लागि बैंक चाहिन्छ, बैंक संचालनमा ल्याउनका लागि सुरक्षा चाहिन्छ र सुरक्षा पोष्ट स्थापना गर्नका लागि थुप्रै बिधी र प्रकृया पुरा गर्नुपर्छ भन्ने कुरा आम जनतालाई थाहा नभएको बताउदै अध्यक्ष बस्नेतले भने–‘म निर्बाचित भएको दूई बर्षभन्दा बढी भई सक्यो तर, गाउँपालिकाले जनतालाई दिने सेवा भार्माबाट दिन नसकेकोमा म क्षमा चाहान्छु ।

गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका बस्तु तथा सेवाहरु आगामी साउन १ गतेदेखि भार्माबाटै प्रदान गरिने बिश्वास दिलाउन चाहान्छु ।’

चुनावको बेला जनताका बिचमा गरेका बाँचाहरु कति पुरा भए र कति पुरा गर्न बाँकी छन् भन्ने कुराको शमिक्षा जनताको घर–घरमै गएर गर्ने अध्यक्ष बस्नेतले बताए ।

दुई बर्षको अबधिमा जिल्लाका सातवटै स्थानीय तह मध्ये आफैले निर्माण गरेको सभाहलमा तेस्रो बजेट सभा गर्न सफल एक मात्र गाउँपालिका कुशे गाउँपालिका भएको अध्यक्ष बस्नेतको भनाई रहेको थियो ।

गाउँपालिकाको सम्पूर्ण कामकाजहरु साउन १ गते देखि थर्पु भार्मामा संचालनमा ल्याएपछि आफु जनताको घरदैलोमा पुगेर मसिनो तरिकाले शमिक्षा गर्ने अध्यक्ष बस्नेतले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगायत सरकारी उच्चपदस्थहरूकाे समेत उपस्थिति रहेकाे थियाे  ।

कृषि बिकास बैंकको शाखा र अस्थायी प्रहरी पोष्टको स्थापना कार्यक्रमको अन्त्यमा कुशे गाउँपालिकाले पनि नेपाल सरकारको वृक्षा रोपन राष्ट्रिय अभियानलाई निरन्तरता दिएको थियाे । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, निमित्त डिभिजन वन कार्यालय प्रमुख लगाएतका सबै अतिथिहरुले एक–एक वटा बिरुवा रोपन गरेर वृक्षा रोपन राष्ट्रिय अभियानलाई निरन्तरता दिएका थिए ।