यसरी प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको हत्या….

हत्यामा संलग्न तीन जनापक्राउ

काठमाडाैँ,भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाका मोहम्मद नासिद छन्। उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको हो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी-ज्वाइँको घरमा बस्दै आएकी थिइन्। ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो।

प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ। उनीहरु मोहम्मद रसिद र अरुण कुमार थिए।

हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन्। उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन्। सोही क्रममा नासिदसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो।