मध्यपहाडी लोकमार्ग तीन बर्ष भित्र सम्पन् हुने

काठमाडौं, सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको बाँकी कामको बोलपत्र गरिने बताएका थिए । यो सडक आव २०७८/७९ मा नै सम्पन्न गर्ने गरी काम अघि बढिरहेको उनले समितिलाई जानकारी दिएका थिए ।

सडकमा ५४२ किलोमिटर सडक निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको बताइएको छ ।  चार सय ६३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सो काम समयमा नै सकिने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘काम गर्दै जाँदा दुई÷चार महीना तलमाथि होला तर त्योभन्दा ढिलाइ हुन नदिन मन्त्रालय लागेको छ ।’
रासस