२३ लाख ठग्ने ‘लेडी डन’ डायन यसरी परिन् प्रहरीको फन्दामा

काठमाडौं, आफू उच्च घराना र सम्पन्न परिवारको व्यक्ति भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेमा महोत्तरीको औरी नगरपालिका–३ की २१ वर्षीया डायन सेकेन्ड छिन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं नरेफाँटबाट शुक्रबार पक्राउ गरेको हो।

उनले भारतको महाराष्ट्र पलबर रेलनगर बस्ने ३८ वर्षीय श्रीपाल जैनलाई डायन रोज नामक फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । फेसबुकमा साथी बनेपछि जैनलाई उनले आफू सम्पन्न परिवारको एक्ली छोरी भएको बताएकी थिइन्। डायनले आफ्नो परिवार व्यवसायिक पृष्ठभुमिको भएको र सबै सम्पत्तिको हकदार आफूमात्र भएको भन्दै जैनलाई प्रलोभनमा पारेकी थिइन्।

एक्लो हकदार भएको र आफ्नो सम्पूर्ण व्यवसाय जैनलाई मिलाइदिने भन्दै उनले जैनलाई नेपाल बोलाएकी थिइन् । नेपाल आएका जैन फर्कने बेला असार ६ गते १२स्४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कस्टममा पुगेपछि डायनले आफ्नो बाबुले पठाएको बहुमुल्य सामान प्राप्त गर्न ठूलो भन्सार रकम आवश्यक परेको भन्दै जैनसँग उनले २३ लाख रकम लिइन्।

त्यसपछि सम्पर्कविहीन भएपछि जैनले आफू ठगिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका उजुरी दिएका थिए। लगत्तै खटिएको प्रहरी टोलीले उनलाई नरेफाँटबाट बेलुका पक्राउ गर्न सफल भयो ।

उनको कोठाबाट प्रहरीले २० लाख ८० हजार, डायनको राहदानी, भाइएमइ भौचर ४ थान, विभिन्न कार्डहरु १० थान बरामद गरेको छ। उनलाई ठगी कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

नेपाल लाइभ बाट