गाउँ गाउँमा पुग्यो निर्धनको स्वास्थ्य परिक्षण कार्यक्रम

कोहलपुर, निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको गाउँघर स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रबार बैजनाथ गाउँपालिका वडा नं.८ मा सम्पन्न भएको छ ।

निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका संचालक, निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि जनार्दन देव पन्तले स्वास्थ्य परिक्षण कार्यक्रम आफु र संस्थाको लागि नयाँ भएको बताएका छन् । उनले भने,–‘हामी आगामी दिनमा संस्थाको समुहमा आवद्ध भएका सदस्य तथा उनीहरुको परिवारका सदस्यहरुको स्वास्थ्य परिक्षणका लागि गाउँ गाउँमा पुग्नेछौं र भावि दिनमा अस्पताल पनि संचालन गरेर सेवा दिने सोचमा रहेका छौं ।’ उनले करिब ८ वर्षअघि आफ्नो वित्तीय स्रंस्थाले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम केहि वर्षयता नेपाल सरकारले सुरु गरेकोमा खुशी व्यक्त गरे ।

प्रमुख अतिथि पन्तले करिब २८ वर्ष अघिदेखि देशका विभिन्न क्षेत्रमा लघुवित्त सेवा प्रवाह गरेर हज्जारौं घरपरिवारको गरिबी कम गर्दै धेरै नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न प्रतिष्ठानले स्वास्थ्य सेवा दिन हरेकका घरदैलो पुग्ने लक्ष्य लिएको पनि बताए । उनले गरिवी निवारणमा सहयोेग पुरयाउने र भविश्यमा बाँके जिल्लामा यो स्वास्थ्य परिक्षण कार्यक्रम सफल भएसँगै देशभरि नै स्वास्थ्य सेवा घरदैलोमै गएर पुर्याउने प्रतिष्ठानको परिकल्पना रहेको पनि बताए ।

संस्थाका कार्यकारी अधिकृत अन्जु पाण्डेले पहिला आफ्नो स्वास्थ्यमा ध्यान दिन सके मात्रै सबै कुरा सम्भव हुने र कामकाजमा लाग्न सक्ने बताइन् । उनले भनिन्–‘हामी दिदीबहिनीहरु कुनै न कुनै रोगले ग्रसित छौं । विहानदेखि साँझसम्म घरधन्दा या कुनै पनि काममा व्यस्त छौं । त्यसकारण हामीले हाम्रो स्वास्थ्य परिक्षण गर्न ध्यान दिन सकेका छ्रैनौं ।’ उनले, रोग लागि सकेपछि उपचार गराउनु भन्दा पहिले नै रोग लाग्न नदिने उपायहरु अपनाउन सबैले ध्यान दिनु पर्ने बताइन ।

स्वास्थ्य परिक्षण कार्यक्रममा संस्थाका कार्यक्रम ब्यवस्थापक जिताराम गौतमले प्रतिष्ठानको भावि लक्ष्य र उद्देश्यका बारेमा जानकारी दिए । उनले हिजोका दिनहरुमा प्राप्त सिकाइहरुबाट बचत गर्ने बानीको विकास गराउँदै सबैलाई स्वस्थ जीवन जिउन र सफल व्यवसायि बनाउन संस्था लागि पर्ने बताए ।

स्वास्थ्य परिक्षण कार्यक्रममा वृद्धवृद्धा, महिला, पुरुष, बालबालिका लगायत ८० जनाभन्दा बढिले आफ्नो स्वास्थ्य परिक्षण गरेका थिए भने बिरामी मध्ये ५ जना जेष्ठ नागरिकको निःशुल्क उपचार गरिएको थियो ।