बिप्लवका सेक्रेटरी सहित एकैपटक २२ नेता गिरफ्तार ।

कास्की, प्रहरीले कास्कीबाट विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका २२ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त बैठकमा स्थलवाटै प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी बिवेक भण्डारी ‘आक्रोश’ सहित २२ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ उरीस्थित आमा समूहको भवनमा शनिबार विद्यार्थीको संयुक्त बैठक बसिरहेका बेला अपराह्न चार बजे प्रहरीले बैठकस्थल घेरा हाली उनीहरूलाई गिरफ्तार गरेको जानकारी नेकपाले दिएको छ ।

गिरफ्तारीमा पर्नेहरूमा नेकपा कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपा कास्कीका जिल्ला सदस्य एवम् एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा गण्डक व्यरो संयोजक मिलन राई, अखिल क्रान्तिकारीका कास्की जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि.एन. क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता एवम् सहिदपुत्र सुजन सापकोटा लगायत छन् । नेपाल कम्युनिस्ट पार्टीले बैठक स्थलबाट आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिए पनि प्रहरीले भने घटना सार्वजनिक गरेको छैन ।