विप्लबसँग राजनीतिक व्यवहार गर : रोहित

काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दमनबाट होइन, वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।

उनले सीके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई प्रतिबन्ध लगाई लखेट्नु नहुने सुझाव दिए । बिजुक्छेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय एवम् समाजवादी काम गर्न नसकेको आरोपसमेत लगाएका छन् ।

नेमकिपाले भक्तपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानमा उल्लेख भएको प्रावधानअनुसार सरकारले समाजवादी काम गर्न नसकेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पुँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको बताउँदै अमेरिकाले कानुनी र गैरकानुनी रूपमा अन्य देशहरूमाथि हस्तक्षेप गरिरहेको भनाइ राखे ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव २०७५/७६ र आव २०७६/७७ को बजेट वक्तव्यका प्रतिबद्धताका कतिपय वाक्य नै उही भएकाले सरकारले ल्याएको बजेट प्रतिबद्धताको पुलिन्दा मात्र भएको बताए ।