सिक्किमको मुख्यमन्त्रीमा पिएएस गोले,लिए नेपाली भाषामा सपथ

काठमाडौ,सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् ।

शनिबार उनी एसकेएम विद्यायक दलका नेता चुनिएका थिए । हज्जारौं समर्थकहरुका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा सपथ लिएका थिए । नेपाली भाषामा सपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे ।

सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ । तामाङसँगै ११ मन्त्रीहरुले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारणहरु निकै उत्साहित देखिन्थे ।

मन्त्रीको रुपमा सपथ लिने ११ जनामा कुंगा निमा लेप्चा, सोनम लामा, बेदुसिंह पन्थ, डा.मणिकुमार शर्मा, अरुणकुमार उप्रेती, सन्दुप लेप्चा, लोकनभाथ शर्मा, मिङ्मा नोर्बु शेर्पा, कर्मा लोडय भुटिया, भीम हैंग लिम्बु र सञ्जित खरेल रहेका छन् । तामाङको मन्त्रीमण्डलमा कोही महिला प्रतिनिधि छैनन् ।