नेकपाको पोलिटव्यूरो घोषणा अझै लम्बिने संकेत,ओलीलाई अल्पमतमा पर्ने डर
काठमाडौँ,आन्तरिक समिकरणका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलीटव्यूरो गठनको घोषणा अझै लम्बिने संकेत देखिएको छ।
पार्टी स्रोतका अनुसार एकातिर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा (बादल)बीच नजिकिँदो राजनीतिक समिरकण र अर्कोतिर बादल र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बढ्दो अविश्वासको दूरीले त्यसलाई असर गरेको बताइएकाे छ ।
नेकपाभित्र पूर्व एमाले र माओवादीलाई समेटेर एक सय ४७ सदस्यीय पोलिटव्यूरो गठन गर्ने सहमति भएपनि माओवादीको भागमा परेका ६६ सदस्यमा बादलले कति पाउने भन्नेमा निर्णय हुन सकेको छैन, जसले समिरकणमा अर्थ राख्छ ।
प्रधानमन्त्री ओली संसद बाहेक पार्टीका प्राय सबै निकायमा अल्पमतमा परेका कारण उनी सकेसम्म पोलिटव्यूरो आफू अनुकुल गठन र घोषणा गर्ने मनस्थितिमा रहेको स्रोत बताउँछ।
बादल र प्रचण्डबीचको बढ्दो दूरीको फाइदा लिने मनस्थितिमा प्रधानमन्त्री ओली रहेको स्रोतको दाबी छ। नेकपाले पार्टी गठन भएको झण्डै एक वर्षपछि गत वैशाख ९ गते जिल्ला तहको नेतृत्व चयन गरेको थियो । तर उक्त नेतृत्वलाई लिएर पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उनको समूहले असन्तुष्टी जनाएको थियो।
पार्टी एकताको पूर्णतालाई लिएर सकसमा परेको नेकपाले हालसम्म पनि अनुशासन आयोग गठन गर्न सकेको छैन । यस्तै प्रवासका संगठनहरु पनि उसले गठन गर्न नसकेपछि आफ्नै नेता तथा कार्यकर्ताहरुबाट आलोचित बनेको छ ।
चुनावी गठनबन्धनसँगै पूर्व एमाले र माओवादीले आफ्नो एकल हैसियत समाप्त गर्दै गत वर्ष जेठ तीन गते नेकपा गठन गरेका थिए।
सबै भन्दा ठूलो पार्टीले एकतालाई समयमै नटुग्याउँदा र विकासका प्रतिवद्धताहरु पूर्णरुपमा कार्यान्वयनमा नल्याउँदा पार्टीको तल्लो तहमा निराशा पैदा भएको छ।
लामो समय पार्टी विघटनको अवस्थामा रहँदा पूर्व एमाले र माओवादीमा उच्च हैसियत बनाएका जिल्ला तहका नेताहरु नेतृत्वसँग असन्तुष्ट बनेका छन्।