यस्तो छ सिन्धुलीका स्थानीय तहको काईदा

भ्रमणकै नाममा ३ करोड ४७ लाख झ्वाम

सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका ९ वटै स्थानीय तहले भ्रमण र अनुगमन भत्तामा खचाक्ली खर्च गरेका छन् 

चालु आर्थिक वर्ष २०७५/०७६ का लागि नगर तथा गाउँसभाबाट विनियोजन गरिएको यस्तो रकम अधिकांस स्थानीय तहले खर्च गर्दै आएका छन् । भ्रमण भत्ताका लागि सबै भन्दाबढी हरिहरपुरगढी गाउँपालिका कार्यालयले रकम छुट्याएर खर्च गर्दै आएको छ।

उक्त गाउँपालिकाले ५५ लाख रुपैयाँ जनप्रतिनिधि पदाधिकारी र कर्मचारीका लागि भ्रमण भत्ता, अनुगमन तथा मुल्यांकनका लागि भन्दै खर्च गरेको हो। त्यस्तै कमलामाई नगरपालिका कार्यालयले ४९ लाख रुपैयाँ विनियोजन गरेको छ।

दुधौली नगरपालिकाले ४० लाख तिनपाटन गाउँपालिकाले ४७ लाख, सुनकोसी गाउँपालिकाले ३५ लाख, मरिण गाउँपालिकाले ३५ लाख, घ्याङलेक गाउँपालिकाले ४१ लाख, गोलनजोर गाउँपालिकाले २० लाख र फिक्कल गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट भ्रमण र अनुगमन भत्ताका रुपमा विनियोजन गरेर खर्च गरेको छ।

कमलामाई नगरपालिकाको ४९ लाख रुपैयाँ मध्ये झण्डै ८० प्रतिशत रकम खर्च भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए। ‘कर्मचारीहरु कन्चनपुरसम्म भ्रमण गरेर आएका छन्। जनप्रतिनिधिहरु पनि त्यही पैसामा भ्रमण गर्छन्। कृषकहरुलाई पनि सोही पैसाबाट भ्रमण गराइएको छ,’ उनले भने।

अवलोकन भ्रमण, बैठक भत्ता र योजनाको अनुगमनका लागि नगरमा अन्य श्रोत नहुने भएकाले नगरसभाबाटै निर्णय गराएर यस्तो बजेटको व्यवस्थापन मिलाइएको सुवेदीको भनाई छ।

अन्य स्थानीय तहमा भएका प्रभावकारी कामको अध्ययनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेर खर्च गरेको दुधौली नगरपालिकाका मेयर घनस्याम राउत बताउँछन्। ‘नगर ठुलो छ। सबै ठाउँमा कर्मचारी र जनप्रतिनीधिले आफ्नै खर्च गरेर अनुगमन गर्न सक्दैनन्। नगरमा प्राविधिकहरु समेत खटाइएको छ। उनिहरु फिल्डमा जाँदा यस्तो भत्ता दिने गरिएको छ,’ उनले भने ।

अन्नपुर्णवाट