नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती

नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो ।

दुई देशका कूटनीतिज्ञका लागि आवतजावतमा भिसाको उन्मुक्ति र परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमतिसमेत भएको छ ।

बौद्ध धर्मावलम्बीहरूको देश भएको र सांस्कृतिक रूपले एकअर्कासँग जोडिएकाले सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने निष्कर्षमा दुवै देश पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नागरिक स्तरको सम्बन्ध स्थापना गर्न दुई देशबीच सिधा हवाई सम्पर्क कायम गर्ने गरी काम अघि बढाउने सहमतिसमेत भएको छ । भेटवार्तामा ओलीले फुकलाई नेपाल आउने निम्तोसमेत दिएका छन् ।