प्रकोप पूर्व तयारीका लागि कोहलपुर र बैजनाथमा सेन्सर जोडिने

प्रकोप जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको उत्तरदायित्व नामक ५ वर्षे कार्यक्रम कोहलपुरमा शुभारम्भ भएको छ ।

ताइवानी संस्था एनसिडिआरको आर्थिक तथा प्राविधिक सहयोग, इन्रुडेक बाँकेको समन्वयमा  कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा प्रकोप जोखिम न्यूनीकरणका लागि कार्यक्रमको शुरुवात भएको छ । 

बाँकेका २ स्थानीय तह कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केहि स्थानहरुमा भविष्यमा हुन सक्ने जोखिमको न्यूनीकरण र सचेतनाका लागि ताइवानी एनसिडिआर नामक संस्थाले इन्रुडेक बाँकेको समन्वयमा दुई स्थानीय तहमा सेन्सर जोड्न लागेको हो ।

कोहलपुर र बैजनाथका केहि स्थानहरु बाढि, डुबान, कटान, आगलागि जस्ता प्रकोपको उच्च जोखिममा रहेकोले त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न दुबै स्थानीय तहका १२ वटा स्थानमा जोखिमको पूर्व तयारीका लागि सेन्सर जोडिने भएको छ । 

उक्त शुभारम्भ कार्यक्रममा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका प्रमुख लुट बहादुर रावत, उपप्रमुख सन्जु कुमारी थारु, बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचाल, उपप्रमुख शारदा रेग्मी विश्वकर्मा, कार्यपालिकाका सदस्य लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त शुभारम्भ कार्यक्रममा ताइवानी संस्था एनसिडिआर (ल्ऋम्च्) का निर्देशक हङ्गी चेन, सचिव उइसेन लिउ, इन्रुडेकका अध्यक्ष धर्मलाल रोकाया लगायतको उपस्थिती रहेको थियो ।

नेपालको जोखिम व्यवस्थापनमा २० वर्षदेखि अध्ययरत कोमलराज अर्यालले भने,–‘एउटा स्थानमा जोडिएको सेन्सरले करिब २ किलोमिटरसम्मको दुरीमा संकेत प्रवाह गर्न सक्छ । सेन्सरको मद्धतले प्रकोप जान लागेको स्थानका बासिन्दाहरुले समयमै जानकारी पाउन सक्छन् ।’ उनले, प्रकोपलाई रोक्न नसकिए पनि प्रकोपबाट हुनसक्ने क्षतिलाई कम गर्न सकिने भएकाले बाँकेका दुई स्थानमा सेन्सर जोडिन लागेको बताएका छन् ।

विदेशीहरुले नेपालमा आएर आफुले जानेको विपद् सम्बन्धि कुराहरु सिकाइरहेका छन्, उनीहरुबाट हामीले धेरै कुराहरु सिक्ने अवसरका रुपमा लिनु पर्ने इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले बताएका छन् ।

कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले प्रकोप जोखिमको पूर्व सूचनाबारे सबैलाई समयमै सचेत गराउने यो कार्य स्वागतयोग्य र राम्र्रो भएको बताएका छन् । त्यस्तै बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले यो प्रकोपको पूर्व सूचना दिने कार्यले सबैले समयमै आफ्नो जिउधनको बचाउ गर्न सक्ने र सुरक्षित स्थानमा जाने सक्ने बताएका छन् ।