नेपालगन्ज मेडिकल कलेजका २ विद्यार्थी लागुऔषधसहित पक्राउ

नेपालगन्ज,बाँकेमा एमबीबीएसका २ विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत २ विद्यार्थी नेपालगन्जबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा एमबीबीएस चौथो बर्षमा अध्ययरत धनगढी उप–महानगरपालिका–०१ का निशान चन्द र तेस्रो बर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मा रहेका छन् ।

दुवै जनाको साथबाट साढे ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको उनले जानकारी दिए ।

भारतको रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका चन्द र शर्मालाई सोमबार राति जमुनाहाबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई बाँके प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

केही बर्षअघि समेत बाँके प्रहरीले नेपालगन्जबाट नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डाक्टरलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।