गरगहना लुटे लुटेराहरूको समूहले यसरी वृद्ध दम्पतीलाई कुटे

चितवन । पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा आज बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो ।

सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते भएका छन् । उनिहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ भने कानमा लगाउँने रिङ र घाँटीको सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ ।

पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएकाे छ ।