सरकारलाई महतोको प्रश्न – नीति तथा कार्यक्रम भाङ खाएर लेखिएको हो ?

काठमाडौं – संसदको तेस्रो ठूलो दल राजपाले सरकारका नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको जस्तो रहेको आरोप लगाएको छ ।

 

संविधानमा कसैको विमति छैन भनेर जनतामा भ्रम छर्न खोजेको राजपाको आरोप छ । सरकारको नीति तथा कार्यक्रममाथि संसद्को छलफलमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम अर्धनिद्रामा लेखिएको जस्तो रहेको आरोप लगाएका हुन् ।

संविधान अझै सर्वस्वीकार्य भइनसकेको दाबी गर्दै उनले संशोधनको माग गरे । ‘संविधानमा विमति छैन रे, भाङ खाएर लेखिएको हो यो नीति तथा कार्यक्रम ? भाङ खाएर त नलेखिनु पर्ने हो,’ महतोले कटाक्ष गरे, ‘संविधान बाइबल, कुरान र गीता भइसक्यो ? यदि बाइबल र कुरान जस्तै कमा पनि परिवर्तन नगर्ने हो भने यो संविधान पनि बाइबाइ हुन्छ ।’

महतोले संविधानमा विमति नरहेको भनेर जनतालाई भ्रम पार्न खोजिएको आरोप लगाए । ‘यो कार्यक्रम आधा निद्रमा लेखिएको हो र ? नत्र संविधानमा सहमति भएको कुरा कसरी भयो ? संविधानमा नोट अफ डिसेन्ट लेख्ने प्रचण्ड अहिले सत्तारुढ हुनुहुन्छ । उपप्रधानमन्त्री उपेन्द्र यादवजीले पनि आन्दोलन गरेकै हो ।’