फेरी गर्यो उत्तर कोरियाले मिसाइल परिक्षण

छोटो दुरीको मिसाइल परिक्षण गरेको दछिण कोरियाको दावी

एजेन्सी,  उत्तर कोरियाले छोटो दुरीका मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार ती परिक्षण उत्तर कोरियाको पूर्वी भागमा रहेको होदो प्रायद्विपबाट गरिएका थिए ।

यदी पुष्टि भएमा यो सन् २०१७ नोभेम्बरमा प्योंगयांगले गरेको ‘अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल’को परिक्षण गरे यताको पहिलो मिसाइल परिक्षण हुनेछ । अघिल्लो महिना प्योंगयांग आफैले एक नयाँ ‘सामरिक निर्देशित हतियार’ परिक्षण गरेको बताएको थियो ।

अघिल्लो महिनाको परिक्षण भियतनाममा उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर भेटघाटपछिको पहिलो परिक्षण थियो । शिखरवार्ता बीना निष्कर्ष टुंगिएको थियो । उत्तर कोरियाले लामो दुरी वा आणविक मिसाइल परिक्षण नगर्ने वाचा गरेको छ । छोटो दुरीको मिसाइल परिक्षणले उत्तर कोरियाको वाचालाई उलंघन हुँदैन ।

अमेरिकाले किमले आणविक हतियार कार्यक्रम त्याग्नेतर्फ गम्भिर कदम नउठाएसम्म पूर्ण आर्थिक प्रतिबन्ध कायम रहने अढान लिदैं आएको छ । अमेरिकाको अढानबाट प्योंगयांगभने अधैर्य हुदैं गएको देखिन्छ ।

पछिल्लो छोटो दुरीको मिसाइल परिक्षणबारे बोल्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रवक्ता साराह स्याण्डर्सले आफूहरु उत्तर कोरियाको कदममा जानकार रहेको र आवश्कता अनुसार निगरानी जारी राख्ने बताइन् ।